काठमाडौं :
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण तथा विस्तार परियोजनालाई सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको सूचीमा समावेश गरेको छ।
सहरी विकास मन्त्रालयले उक्त रंगशालालाई उच्च प्राथमिकतामा राख्दै यसको कार्यान्वयन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ। यसअघि सरकारले असोज महिनाको अन्त्यतिर रंगशालाको गुरुयोजना स्वीकृत गर्दै आवश्यक नयाँ सम्झौता प्रक्रिया अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको थियो।
मन्त्रिपरिषद्को निर्णयअनुसार गुरुयोजनाअनुसार आवश्यक पर्ने जग्गा व्यवस्थापनका लागि त्रिभुवन विश्वविद्यालय, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्सहितका सरोकारवाला निकायहरूलाई कानुनबमोजिम समन्वय गर्न भनिएको छ।
सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत योजनाअनुसार करिब १० अर्ब रुपैयाँ बराबरको थप लगानी गर्ने तयारी गरिएको छ। उक्त लगानीपछि रंगशालाको दर्शक क्षमता उल्लेख्य रूपमा वृद्धि हुने र संरचनालाई आधुनिक सुविधासहित अन्तर्राष्ट्रिय स्तरको खेल पूर्वाधारका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।
सरकारको यो निर्णयसँगै नेपाली क्रिकेटको दीर्घकालीन विकास र अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्ने सम्भावना थप बलियो हुने अपेक्षा गरिएको छ।
}})